Wednesday, June 6, 2012

नमूना प्लाष्टिक घरबाट आर्थिक सुधार






मैदी / मैदीकोटकी कविता तुम्सिङको जीवन अहिले निकै परिवर्तन भएको छ । विगत एकवर्ष अघि कोदो र मकैको मात्र खेती गरिंदै आएको बारीमा प्लाष्टिक घर निर्माण गरी बेमौसमी गोलभेडा खेती गरेर राम्रो आम्दानीको स्रोत बनाउन सफल भएपछि कविताको जिवन परिवर्तन भएको हो । मैदीकोटमा खानेपानीकै अभाव भएको समयमा थोपा सिंचाइ प्रविधिको माध्यमबाट प्लाष्टिक ड्रममा सिंचाइ प्रबाह गरी उहाँले एकसय बोट उन्नत जातको गोलभेँडा लगाउनु भएको छ । 

युनाईटेड मिशन टु नेपाल धादिङ क्लष्टर र जगतज्योती सामुदायिक विकास समाज  (जेड्स) मैदी धादिङको संयुक्त प्रयासबाट मैदीकोटमै पहिलो पटक नमूना प्लाष्टिक घर निर्माण भएको हो । सो प्लाष्टिक घरबाट यसवर्ष उत्पादित ५ सय किलोग्राम गोलभेडा ५० रुपैँयाको दरले विक्री गरी २५ हजार रुपैया वचत गर्न सफल भएको उहाँ बताउनु हुन्छ । सो प्लाष्टिक घरभित्र काउली, बन्दा र प्याजका विरुवा समेत उत्पादन गरी विक्री वितरण गर्न थाल्नुभएको छ, तुम्सिङले । 

विगतमा कोदो, मकै लगाउँदा हजार बराबरको उत्पादन नहुने सो जग्गामा लटरम्म गोलभेडा फलेपछि आगामी दिनमा थप प्लाष्टिक घर निर्माण गर्नुका साथै आकाशे पानी संकलन गरी हिउँदे सिंचाइ गर्ने तुम्सिङको सोचाई रहेको छ । कोसोक नेपाल धादिङद्वारा परिचालित गरिवी निवारण कार्यक्रम अन्तर्गत मैदीकोट सामुदायिक संस्था गठन गरी समुह मार्फत उहा सक्रिय हुनुभएको हो । उहाँ मैदीकोट खानेपानी योजनाको कोषाध्यक्ष पदमा समेत सकृय रहनुभएको कोसोक नेपाल धादिङका सामुदायिक परिचालक नारायणकुमार श्रेष्ठले बताउनुभयो । 
यसरी सबै युवाहरु गाउँमै विकास निर्माण र आर्थिक उपार्जनमा लाग्ने हो भने कुनै पनि युवाहरु मुग्लान पस्नु नपर्ने भन्दै मैदीकोट सामुदायिक संस्थाका अध्यक्ष केशव परियारले समेत कविता तुम्सिङबाट अभिप्रेरित भै नमूना प्लाष्टिक घर निर्माण गर्ने योजना बनाउनुभएको छ ।

जिल्ला कृषि विकास कार्यालय धादिङबाट गोलभेडा खेती सम्बन्धी तालिम, गोष्ठी कृषि केन्द्र मार्फत लिन सकेको खण्डमा अझै उत्पादन बढाउन सकिने तुम्सिङको विश्वास छ । अघिल्लो वर्ष डडूवा रोगले सबै गोलभेडा नष्ट भएपनि यसवर्ष जेड्स नेपाल धादिङको प्राविधिक सहयोगमा राम्रै उत्पादन गर्न सफल भएको हुँदा आफूमा आत्मबल बढेको उहाले बताउनुभयो । कोसोक नेपाल धादिङद्वारा सञ्चालित गरिवी निवारण कार्यक्रमको आर्थिक सहयोगमा निर्माण गरिएको मैदिकोट खानेपानी योजना सम्पन्न भएपछि पानी लिन जाँदा लाग्ने समयको सदुयोग गर्दै खेर गएको पानीलाई करेसाबारीमा प्रयोग गर्ने र वृहत करेसाबारी बनाउने तुम्सिङको योजना छ ।

No comments:

Post a Comment

vfhcnbn

vggc