भुरलीभञ्ज्याङ गाविस वडा न.ं ३ हनुमान मन्दिर नजिक निर्माण सुरु गरिएको आवास गृह भवन आर्थिक अभावको कारण अलपत्र परेको हो ।
३० लाखको लागतमा गत वर्ष ०६७ जेठ महिनाबाट निर्माण कार्य सुरु भएको भवनमा हालसम्म ४ लाख रुपैयाँ खर्च भएको महिला मानवअधिकारकर्मी एवं् भवन निर्माण समितिका अध्यक्ष राधिका सापकोटाको भनाई छ । आर्थिक वर्ष ०६६÷६७ मा जिल्ला विकास समिति धादिङले भवन निर्माणको लागि ४ लाख रुपौयाँ सहयोग गरेपछि भवन निमार्ण कार्य सुरु गरेपनि रकम अभावको कारण बिचैमा छोड्नु परेको अध्यक्ष सापकोटाले गुनासो गर्नुभयो ।
जिविसले महिलाको लागि छुट्याएको रकम समेत अन्यत्र सडकहरुमा खर्च गरेको र आ.व.२०६७÷०६८ मा हिंसा पीडित रातहकोषबाट छुट्याएको रकम निर्देशिका विना खर्च गर्न नमिल्ने भन्दै रकम नदिएपछि निर्माण कार्य रोकिएको उहाँले बताउनुभयो ।
आ.व.०६७÷६८ मा महिला लक्षित कार्यक्रम अन्तरगत जिविसले रिङ्रोडको लागि १६ लाख र तसर्पूको सकड निर्माणमा ८ लाख खर्च गरेको थियो । तर महिलाका लागि सुरक्षा घर बनाउन लाग्दा समेत जिविसले रकम उपलब्ध नगराएकोमा महिलाअधिकारकर्मीहरु आक्रोसित भएका छन् ।
अहिले जिल्लामा ४ जनासम्म महिलाहरु दैनिक रुपमा हिंसामा परेर सदरमुकाम आउने गरेका छन् भने ८ जनासम्मलाई महिनामा सुरक्षित रुपमा राख्ने गरेको महिला मानवअधिकारकर्मीहरुको भनाइ छ ।
‘‘अहिले उनीहरुलाई सदरमुकाम कै विभिन्न होटलहरुमा राख्दै आएका छौं । हिंसा पीडित सहयोग कोष निर्माण गरेर ५÷१० रुपैयाको दरले उठाएको पैसाले होटलको खर्च धानेका छौं । अब त त्यहि पनि सकिन लागेको छ ।’’ महिला मानवअधिकार रक्षकहरुको जिल्ला संजाल धादिङका अध्यक्ष अम्बिका रुपाखेती बताउनुहुन्छ ।
सुत्केरी महिलाहरुलाई संरक्षण दिनु पर्दा अलि बढि खर्च लाग्ने र एक जनाको लागि १६ हजारसम्म खर्च लागेको महिलामानवअधिकार रक्षक सञ्जालको अनुभव छ ।
आर्थिक अभावले निर्माण कार्य रोकिएको भवन निर्माण पुरा गर्नको लागि जिल्ला विकास समितिले आ.व. ०६७÷६८ को महिला सशक्तिकरणको रकमबाट ७ लाख रुपैया दिने निर्णय गरेको छ । युनाइटेड मिसन टु नेपालले पनि ३ लाख रुपैया सहयोग गर्ने जनाएको छ ।
३० लाखको रुपैयाँको लागतमा निर्माण गर्नुपने भवन निर्माणको लागि जिविसले ४ लाख रुपैयाँ खर्च गरेको छ । आगामी वर्ष ७ लाख दिने भनेको छ युएमएनले दिने ३ लाख रुपैयाँ उपलब्ध गराउने जानाकारी दिएकोले १४ लाख जम्मा हुने देखिन्छ । यो रकमले सुरक्षित आवास गृह बन्छ त ? महिलाअधिकारकर्मी मुना एवं भवन निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष मुना भट्ट प्रश्न गर्नु हुन्छ ।
‘जेष्ठ महिनाबाट सुरु भयो असारको अन्तिमतिरबाट निर्माण कार्य रोकियो, अहिले पिल्लरमात्रै देखिन्छ’ ।
जिल्ला सदरमुकाम धादिङबेशी नजिकै रहेको उक्त स्थानमा सामुदायिक वनले भवन निर्माण गर्नको लागि ६ आना जग्गा निःशुल्क उपलब्ध गराएपछि निर्माण कार्य सुरु भएको थियो ।



No comments:
Post a Comment