===============================
धादिङ । दुबईको अबुधावीमा स्टिल कम्पनीमा काम गर्ने धादिङ लापाका टेकबहादुर तामाङको बिदा लिएर घर आउने खबर गरेको दुई दिनभित्रै मृत्युको खबर आएपछि उनको परिवार शोकमा डुबेको छ ।
‘यही चैत १८ गते नेपाल आउने खबर गर्नुभएको थियो तर एक्कासि मृत्यु भयो भन्ने सुन्दा पत्याउनै सकिन’ उनकी श्रीमती रितुमायाँले आँशु झार्दै बताइन् । टेकबहादुरका साथीहरुले गाउँमा फोन गरेर उनको मृत्यु भएको खबर गरेका हुन् ।
छ वर्ष कतारमा काम गरेपछि घर आएका टेकबहादुर गाउँमा पैसा कमाउन नसक्ने भएपछि परिवार पाल्नुपर्ने बाध्यतालाई पूरा गर्न चार वर्षअघि दुबई गएका थिए । एक छोरी, श्रीमती, वृद्ध आमाबुबाका लागि खर्च जुटाउन विदेशिएका उनको घर आउने भनी फोन गरेको दुई दिनपछि नै मृत्यु भएको थियो । राजदूतावासले दिएको जानकारीअनुसार स्वाशप्रश्वासमा समस्या आएका कारण मृत्यु भएको भन्ने प्रतिवेदन बनाइएको छ ।
नेवेरमा मात्र छ जनाले यसरी विदेशमा ज्यान गुमाइसकेका छन् भने खाडी मुलुकमा बिरामी भएर आएको केही दिनमै मृत्यु हुनेको सङ्ख्यासमेत तीन पुगेको छ ।
लापा गाविसमा २५ भन्दा बढीको कामको सिलसिलामा खाडी मुलुक गएर मृत्यु भएको पूर्व अध्यक्ष सिंहबहादुर तामाङको भनाइ छ । यस गाविसका पाँच सयभन्दा बढी युवा खाडी मुलुकमा काम गरिरहेका उनले बताए ।



No comments:
Post a Comment