Friday, April 27, 2012

किसानलाई टेलिफोनवाट प्राविधिक सेवा



राजेन्द्रकुमार बस्नेत

धादिङबेसी/ ‘तरकारी बालीमा रोग लाग्यो,अन्न वालीमा समस्या देखियो ,फलफुलमा रोग लागेर निकै हानी नोक्सानी भयो’ तर पनि  समस्या समाधानको उपाय थाहा नभएर चिन्तित हुनुनुन्छ भने अव चिन्ता नलिनुहोस । तपाईले अब आफ्नै खेतवारीमा बसेर टेलिफोजवाट निःशुल्क प्राविधिक परामर्श सेवा लिन सक्नु हुनेछ । धादिङ जिल्लाका किसानहरुले  व्यवसाय गर्दा आईपर्ने समस्या समाधानका लागि  प्राविधिक परामर्श सेवा लिन जिल्ला कृषि विकास कार्यालय पनि धाउनुनपर्ने  भएको छ । 

    पछिल्लो समयमा जिल्लाका  किसानहरुको आकर्षण  व्यवसायिक तरकारी तथा फलफुल खेती तर्फ बढ्न थालेपछि आवश्यकता अनुसार सम्बन्धित ठाउंमा प्राविधिक पुग्न समय लाग्ने भएकाले आवश्यक  प्राविधिक परार्मश सेवा लिन चाहने  किसानको लागि जिल्ला कृषि विकास  कार्यालयले टोल फ्रि नम्बरको टेलिफोन सञ्चालनमा ल्याई प्राविधिक परामर्श दिन थालेको हो । कार्यालय सम्म आउन नभ्याउने किसानहरुका लागि लक्षित गरेर शुरु गरिएको टेलिफोन परामर्श सेवा  यही वैशाख २ गते बाट १६६०१०५२४१९ नम्बरको टेलिफोन बाट शुरु गरिएको जिल्ला कृषि विकास कार्यालय धादिङले जनाएको छ । 
    व्यवसायिक किसानहरुलाई आवश्यक प्राविधिक सेवा दिन कार्यालयमा  कर्मचारी कम भएको र कर्मचारी किसानको खेतवारी सम्म पुग्दा लामो समय लाग्नुका साथै  वाली विरुवाको उपचारमा ढिला भई क्षति हुने भएकोले जिल्ला कृषि विकास कार्यालयले छिटोछरितो प्राविधिक परामर्श सेवा दिनका लागि निःशुल्क फोन सेवा सञ्चालन गरेको धादिङका  वरिष्ठ कृषि विकास अधिकृत नीलकण्ठ पोख्रेलले वताउनुभयो । जिल्लाको पचासैवटै गाविसमा दुर संचार सेवाको पहुंच पुग्नुका साथै अधिकांश किसानसंग रुचि अनुसारको टेलिफोन,मोवाइल उपलव्ध भएकाले टेलिफोन परामर्श सेवा लिन किसानलाई सजिलो हुने पनि  पोखरलको भनाई छ ।

    प्राविधिक परामर्श सेवा लिन चाहने किसानले विदाको दिन बाहेक प्रत्येक हप्ताको सोमवार देखी विहीवार विहान ११ वजे बाट ३ वजे सम्म परार्मश सेवा लिन सक्ने व्यवस्था मिलाईएको पनि पोखरलले बताउनुभयो । किसानले खोजेको प्राविधिक कार्यालयमा नभएमा  प्राविधिक कार्यालयमा उपलव्ध भएपछि  किसानहरुको सम्र्पक नम्वरमा सम्पर्क गरी आवश्यक परामर्श दिने व्यवस्था समेत मिलाईएको वरिष्ठ वागवानी विकास अधिकृत रामहरी सोतीले जानकारी दिनुभयो ।
    परार्मश सेवामा नर्सरी व्यवस्थापन,रोग तथा किरा व्यवस्थापन, विषादी प्रयोग विधि, खेती प्रविधि लगायत कार्यालयले दिने सेवाटेवाको विषयमा किसानहरुले फोन मार्फत जानकारी लिन सक्नेछन् । फोन न्ां १६६०१०५२४१९ मा फोन गर्दा  फोन गर्ने व्यक्तिको पैसा नलाग्ने भएकाले किसानहरुले खेतवारी बाटै सिधै सेवा लिदा प्रभावकारी र छिटो प्राविधिक सेवा दिन सकिने कृषि प्रसार अधिकृत चक्रपाणी पन्थीको सुझाव छ । धादिङ जिल्लामै पहिलो पटक सञ्चालनमा आएको टोल फ्रि नम्बरको सदुपयोग गर्न सकेमा किसानले निकै फाइदा लिन सक्ने बिज्ञहरुको सुझाव छ ।



No comments:

Post a Comment

vfhcnbn

vggc