Wednesday, June 6, 2012

धादिङमा फस्टाउंदै छ रेशम खेती


धादिङ । धादिङ जिल्लाका किसानहरु व्यवसायिक रुपमा रेशम खेती तर्फ आकर्षित हुन थालेका छन । परम्परागत खेतीवालीमा भन्दा कम लगानी र थोरै मेहनत गर्दा पनि उचित प्रतिफल पाउने भएपछि किसानहरु व्यबसायिक रुपमा रेशमखेती तर्फ आकर्षित हुन थालेका हुन ।
    धादिङ जिल्लामा रेशमखेतीको व्यवसायिक विकासका लागि जापानी सहयोगी संस्था जाईकाको आर्थिक तथा प्राविधिक सहयोगमा गैर सरकारी संस्था एकिकृत सामुदायिक विकास अभियान (आईसिडिसी)ले सामाजिक परिचालन मार्फत सहयोग गर्दै आईरहेको छ । जाइका,रेशमखेती विकास कार्यालय धुनिबेसी र आईडिसीको सक्रियतामा भुमेस्थान गाउँ विकास समिति वडा नम्वर ६ र ७ मा शुरु गरिएको नमुना रेशमखेती कार्यक्रमबाट स्थानीय विपन्न किसानहरु लाभान्वित हुन थालेका छन ।
 अन्य खेतीबालीमा भन्दा थोरै मेहनत गरेर छोटो  समयमा उत्पादन लिन सकिने र लगानी खेर नगई प्रशस्त फाईदा हुन भएपछि भुमेस्थान  गाविसको वडा नम्बर  ६ गैरीटोलमा रहेको कालिदेवी रेशम कृषक समूह र भुमेस्थान  गाविसकै वडा नम्बर ७ घर्तीटोलमा रहेको मखमली रेशम कृषक समूह मार्फत किसानहरु  सामुहिक रेशम खेती तर्फ आकर्षित भएका हुन ।
सिचाईको असुविधा भएका कारण पाखोवारीमा खेतीवाली गर्दा  कम उत्पादन हुने भएपनि सोहि जमिनमा   रेशम खेती गर्दा फाईदा हुन थालेको  मखमली रेशम कृषक समूहका सानुकान्छा तामाङ बताउनुहुन्छ ।  रेशम किराबाट १८ दिनमा कोया  उत्पादन हुने किसानहरु बताउंछन ।  अन्नबाली संगै रेशमखेती गर्न सकिने र बारीको डिलमा किम्बुघांस हुर्काएर रेशमखेती गर्न सकिने भएकाले गाउंका धेरै जना किसानहरु रेशम खेतीतर्फ आकर्षित भएको तामाङले बताउनु भयो ।

कालिदेवी रेशम कृषक समूहका १२ जना किसानले दुईबर्ष अघि देखि व्यवासायिक रुपमा रेशमखेती गर्दै आईरहेका छन । त्यसोत जिल्लाको नलाङ,सलाङ,साङकोष,बैरेनी र भुमेस्थान गाविसमा दुई बर्ष देखि व्यवसायिक रेशमखेती कार्यक्रम शुरु भएको हो । यस िअघि पनि जिल्लाको विभिन्न गाविसमा सरकारी तथा गैर सरकारी निकायको पहलमा रेशमखेती हुंदै आईरहेको छ ।  धादिङ जिल्लाको हावापानी र भौगोलिक वनावटले गर्दा यस जिल्लामा व्यवसायिक रेशमखेती फस्टाएको  रेशमखेती विकास कार्यालय धुनीबेसीका प्रमुख राजनारायण सिंंह बताउनुहुन्छ ।
रेशमखेती विकास कार्यालयले व्यवसायिक रुपमा रेशमखेती गर्दैआईरहेका किसानहरुलाई प्राविधिक सहयोग, क्षमता विकास तालिमका साथै किरापालन घरका लागि पनि आर्थिक सहयोग गर्दै आईरहेको सिंहले जानकारी दिनुभयो ।  रेशम किराबाट उत्पादित कोया बजारमा प्रतिकिलो एक सय ७५ रुपैयाँको दरले र रेशम धागो प्रतिकिलो दुई हजार २ सय रुपौयाँको दरले  बिक्री हुने गरेको किसानहरु बताउंछन ।
जिल्ला कृषि विकास कार्यालय धादिङ ,( रेशमखेती विकास कार्यालय ) प्रजनन् पिंडी बिज कोया श्रोत केन्द« धुनिबेसी, जापानी सहयोगी संस्था जाइकाको सहयोग र एकिकृत सामुदायिक विकास अभियान धादिङको सामाजिक परिचालनमा संचालित “गुणस्तरीय रेशम उत्पादन तथा प्रशोधनका लागि प्रवद्र्धन परियोजना ” धादिङ जिल्लामा लागुभएपछि भुमेस्थान,बैरेनी,सलाङ,नलाङ र साङकोषका किसानले व्यवसायिक रुपमा रेशम खेती गर्न थालेका हुन । जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत दिपश श्रेष्ठका अनुसार बिक्रम सम्बत २०ं३१ साल देखि जिल्लामा व्यवशायिक रेशम खेती हुदै आईरहेको छ । कम लगानी,वजारको समस्या नहुने  र उत्पादनले तत्काल मुल्य पाउने भएपछि किसानहरु सामुहिक रेशम खेती तर्फ आकर्षित हुने गरेका हुन ।
जिल्ला कृषि विकास कार्यालय धादिङको एक तथ्याङ अनुसार जिल्लाको कुल खेतीयोग्य जमीन ४८ हजार १ सय ३६ हेक्टर क्षेत्रफलमध्ये १ सय २३ हेक्टर क्षेक्रफलमा अहिले रेशम खेती गरिदै आएको छ । धादिङमा आव २०६६÷६७ मा ८ दशमलव ८ मेट्रिक टन कोया उत्पादन भएको पनि कार्यालयले जनाएको छ ।

No comments:

Post a Comment

vfhcnbn

vggc