Monday, December 27, 2010

नेपाल-मलेसिया दौत्य सम्बन्धको स्वर्ण महोत्सव मनाइँदै

 क्वालालम्पुर । नेपाल र मलेसियावीच दौत्य सम्बन्ध स्थापनाको ५० औं वर्ष पूरा भएको उपलक्ष्यमा मलेसियाको राजधानी क्वालालम्पुरमा मंगलबार एक बिशेष समारोह आयोजना गरिंदै छ ।


मलेसियास्थित नेपाली राजदूतावासको आयोजनामा हुन लागेको कार्यक्रममा सहभागी हुन नेपालबाट श्रम तथा यातायात ब्यवस्थामन्त्री मोहम्मद अफ्ताव आलम मंगलबार बिहान मलेसिया आइपुग्नुभएको छ ।

मन्त्री आलमको अध्यक्षता तथा उहाँका समकक्षी मलेसियाका मानव संसाधन मन्त्री दातुक एस सुव्रमनियमको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा नेपाल र मलेसियाका परराष्ट्र तथा श्रम मन्त्रालयका उच्चअधिकारीहरु पनि सहभागी हुने मलेसियाका लागि नेपाली राजदूत डा. ऋषिराज अधिकारीले जानकारी दिनुभयो ।

यस्तै कार्यक्रममा मलेसियाको श्रम मन्त्रालयका सचिव सेग्राजहा, टुरिजम मलेसिया प्रोमोसन बोर्डका अध्यक्ष डा. भिक्टर वी, मलेसिया-नेपाल बिजनेस काउन्सीलका अध्यक्ष प्रदीपकुमार कुकरेजा, मलेसियन मझौला तथा साना उद्योग संघका अध्यक्ष लगायतका ब्यक्तित्वहरु सहभागी हुनेछन् । कार्यक्रममा गैरआवासीय नेपाली संघका प्रतिनिधि तथा मलेसियामा कार्यरत नेपाली समुदायका प्रतिनिधिहरुको उपस्थीति रहनेछ ।

सो अबसरमा नेपाल पर्यटन बोर्डले नेपालमा पर्यटनका सम्भावना बिषयमा प्रस्तुती दिने छ भने नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिले नेपालमा लगानीका अवसर र नीतिबारे प्रकाश पार्ने कार्यक्रम छ ।

त्यसअघि मंगलबार अपरान्ह नेपालका श्रममन्त्री आलम र उहाँका मलेसियाली समकक्षीवीच भेटवार्ता हुनेछ । भेटवार्तामा मलेसियामा कार्यरत नेपाली श्रमिकको सुरक्षा र इन्सुरेन्स लगायतका बिषयमा छलफल हुने नेपाली राजदूतावासका उपनियोग प्रमुख लेखनाथ भट्टराईले जानकारी दिनुभयो । भेटमा मलेसियामा अर्धदक्ष्य तथा दक्ष नेपाली कामदार भित्राउने बिषयमा पनि नेपालले कुरा उठाउने छ ।

नेपाल र मलेसियावीच सन् १९६० बाट दौत्यसम्बन्ध सुरु भए पनि विगत एक सय बर्षदेखि गोर्खा सैनिकका माध्यमबाट नेपाल र मलेसियाबीच अनौपचारिक सम्बन्ध रहिआएको थियो । सन् २००१ देखि मलेसियाले नेपाललाई श्रमस्रोत मुलुकका रुपमा मान्यता दिएपछि नेपाली कामदार मलेसिया आउनेक्रम सुरु भएको हो । हाल मलेसियामा रहेका बिदेशी कामदारको संख्याअनुसार नेपाली दोस्रो नम्बरमा छन् भने नेपालको पहिलो बैदेशिक रोजगार गन्तब्य हो ।

No comments:

Post a Comment

vfhcnbn

vggc