Sunday, April 1, 2012

विदेशमा आमा बिरामी तीन छोराछोरी भोकै





सीताराम अधिकारी, (धादिङ), एउटा पुरानो थालमा थोरै भात। कुनामा बसेर नुनसँग खाँदै गर्दा उनको घाँटीमा किक्लिक्क भात अड्कियो। उनले भात निल्नका लागि पानीको सहारा लिए। खाना थोरै थियो। त्यसैले चार गासमा सबै भात सकियो। उनी अघाएका थिएनन् तर भाँडामा खाना नभएकाले अघाएको बहाना गर्दै थाल चाटेर उठे।

मैलो सर्ट र च्यातिएको पाइन्ट। गालामा कालो मोसो लागेको। खोकी लागेर सिंगानसमेत बग्दै गर्दा सुँक्कसुँक्क आवाज निकाल्थे। आमा विदेशमा बिरामी परेकाले कमाइ गरेर पैसा पठाउन छाडिन्। घरमा खानेकुरा नभएको र कमाइ गर्ने मानिस पनि नभएपछि महिनौंदेखि तीन जना बालबालिका भोकै बसेका छन्।

कथाजस्तै लाग्ने यो वास्तविकता नीलकण्ठ गाविस वडा नं. ५ गणेशटोल निवासी १० वर्षीय दिनेश रानामगरको हो। उनी मात्र होइन उनकी बहिनी ८ वर्षीया सुमित्रा र दाई १२ वर्षीय दीपकले पनि यसरी नै दैनिकी गुजारिरहेका छन्। उनीहरुका अभिभावक बनेका १६ वर्षीय सन्तोष पनि आफूलाई खानका लागि मात्र कमाउन सक्ने भएका छन्। भाइबहिनीको जिम्मेवारी लिनुपर्ने बेलामा सन्तोषको पनि किड्नीको समस्याले आफैं बिरामी परेर मजदुरी गरेर कमाउन सकेका छैनन्।

घरमा खानेकुरा नभएपछि आमा बिदेसिइन्। आमाले खर्च पठाउलिन् भनेको त बिरामी भएको पो खबर आयो। केही समयअघिसम्म आमाले खर्च पठाउँदा जेनतेन छाक टरेको थियो। तर अब के खाने हो के लाउने हो थाहा छैन। नीलकण्ठ गाविस वडा नं. ५ गणेशटोलमा बसोबास गर्ने तीन बालबालिकाले आफ्सनो भविष्य अन्योलमा परेको बताए।

५ वर्षअघि किड्नी फेल भएर बुबाको मृत्यु भयो २ वर्षअघि आमा मीनाकुमारी कुवेत गएपछि किड्नीकै समस्याले थलिइन्। आमाकै कमाइ खान बसेका उनीहरु अहिले बिहानबेलुका हातमुख जोड्न नपाएर अलपत्र परेका छन्।
घरमा खानेकुरा नभएका कारण आफैं काम गरी खान सन्तोषले घर छाडेपछि तीन जना बालबालिकाले महिनौंदेखि पेटभरि खान पाएका छैनन्।
अहिले उनीहरुले मागेको खाना खाएर गुजारा गर्दै छन्।

सदरमुकाममा फर्निचर व्यवसाय काठ उद्योग गर्ने उनीहरुका बुबा भीमबहादुरको किड्नी फेल उपचार गराउँदा गराउँदै सम्पत्ति सकिएपछि उनको मृत्यु भएको थियो । धेरैतिर ऋण लागेका कारण फर्निचर उद्योगसमेत बिक्री गरेर उनीहरुकी आमा मीना ऋण तिर्ने आशामा २ वर्षअघि विदेशिएकी थिइन् ।
उनीहरुको अवस्था देखेर छिमेकी र सहयोगी दाताहरुले दिएको खानेकुरासमेत आफन्त पर्नेहरुले लाने गरेको फुको भात खाँदै गरेका दिनेशले बताए । पुरानो थालमा थोरै भात लिएर नुनसँग खाँदै गरेका दिनेश भोलिदेखि कसरी भात खाने भन्ने सोधखोज गर्दै थिए ।

बालबालिकाको विचल्ली परेपछि जिल्ला बाल कल्याण समिति र जिल्ला प्रशासन कार्यालयलाई संरक्षण र सहयोग उपलब्ध गराउन जिल्लामा क्रियाशील विभिन्न संघसस्थाले मागपत्र बुझाएका छन् । नेपाल मगर संघ इन्सेक खाद्य अधिकार जिल्ला साजाल फोकस शान्ति केन्द्र रेडियो धादिङ स्थानीयबासी अधिकारकर्मी र संचारकर्मीहरुले नेपालको प्रचलित कानुनअनुसार हरेक बालबालिको संरक्षणको जिम्मेवारी राज्यले लिनुपर्ने भएकाले उनीहरुको आधारभूत आवश्यकताहरु पूरा गर्न माग गरेका छन् ।

No comments:

Post a Comment

vfhcnbn

vggc