वैशाख,९-धादिङ। एक पटकमा एक मात्र सवारी भनेर छेउमा सूचना टाँसिएको छ तर लगातार तीन–चारवटासम्म सवारी एकैपटक आहोर–दोहोर गरिहेका हुन्छन् । पुल भत्किएकाले पुलमा त्यस्तो सूचना टाँसिएको हो ।
पुलका केही भागको बारसमेत भाँचिएर खुला भइसकेको छ । ‘कुन बेला लड्ने हो ? जोखिममा रहेको पुल मर्मत गर्नेतर्फ कसैले ध्यान नदिएकाले कुनै बेला दुर्घटना हुन सक्छ’ स्थानीय मुकुन्द रेग्मी बताउछन ।
पृथ्वी राजमार्ग अन्तर्गत थाक्रे गाविसमा पर्ने सोप्याङ खोलाको पुल भत्किएर जीर्ण भइसक्दा पनि बनाउनेतर्फ सडक विभागले चासो नदिएको स्थानीय बासिन्दाको गुनासो छ । सोप्याङ खोलाको पुल मात्र होइन गलौदी खोलाको पुल पनि भत्किएको छ ।
गाडी पुलमा पुग्दा पुल हल्लिने गर्छ । पुलको दुवैतर्फ भत्किएर लड्न लागेकाले अन्य ‘सपोर्ट’ दिएर अड्याइएको छ । जोखिम मोलेर यातायात सञ्चालन भइरहेको छ तर सडक विभागले जीर्ण पुल मर्मत गर्ने र बनाउनेतर्फ ध्यान नदिँदा ठूलो दुर्घटनाको जोखिम अत्यधिक धेरै रहेको स्थानीय बसचालक बद्री सुवेदीको भनाइ छ ।
पुरानो पुल त्यसमाथि पनि भत्किएर अड्याइएको छ । धादिङबाट काठमाडाँै जाँदा बाटामा पर्ने पुल भत्किएर खोलामा परिएला भन्ने डरले हैरान हुने गाडी चालक बताउँछन् । पृथ्वीराजमार्ग र त्रिभुवन राजपथमा रहेका पुराना पुल तथा कल्भर्ट जीर्ण भइसकेका छन् ।
मर्मत गर्नुपर्ने अवस्थामा धेरैजसो नयाँ नै बनाउनुपर्ने हुन्छ । जीर्ण भएको पुल मर्मत गरिएको भनेर पुलको छेउमा सिमेन्ट लगाइएको छ । त्यसकै कारणले पुल छेउमा दिनदिनै दुर्घटना हुने गरेको कोसोक नेपाल र जिल्ला ट्राफिक प्रहरी कार्यालयले हालै गरेको एक अध्ययनले देखाएको छ ।
एक पटकमा एक मात्र सवारी चलाउनुपर्नेमा धेरैवटा चलाउने, पुलमै पार्किङ गर्ने, पुलको क्षमताभन्दा धेरै तौल भएको सवारी पुलमा हाँक्ने गर्नाले पुल भत्किएको र जोखिमपूर्ण भएको कोसोक नेपालका अध्यक्ष बोधनारायण श्रेष्ठ बताउनुहुन्छ । अध्ययनले देखाएअनुसार पुराना पुल जेखिमपूर्ण छन् । दिनहुँ दुर्घटना हुने गरेको छ । केही ठूला पुल र कल्भर्ट बढी जोखिममा छन् । तिनीहरुको केही मर्मत गर्नुपर्ने र केही नयाँ बनाउनुपर्ने अवस्थामा छन् –
त्रिभुवन राजपथ र पृथ्वी राजमार्ग अन्तर्गत धादिङ जिल्लामा जीर्ण अवस्थामा रहेका एक सय पुल र कल्भर्ट छन् । सडकमा ट्राफिक व्यवस्थापनको काम गर्ने ट्राफिक प्रहरी कार्यालय गजुरीले सडकका पुराना जीर्ण पुल नबनाए दुर्घटना हुने र ठूलो क्षति हुने जनाएको छ ।
जीर्ण भएको पुलको सम्बन्धमा सडक डिभिजन कार्यालय भरतपुर र सडक साइड कार्यालय गजुरीमा सम्पर्क गर्दा मन्त्रालयले बजेट उपलब्ध नगराएकाले पुल बनाउन नसकिएको प्रतिक्रिया दिँदै साना कल्भर्ट भने मर्मत गर्दै गरेको जानकारी दिएका छन् । समाचार



No comments:
Post a Comment