Friday, April 27, 2012

बबरमहल पिडितलाई न्याय कहिले ? घरमुली मारिएपछि परिवारको बिचल्ली


कार्कीडांडा/घरमा खाने अन्नको दाना छैन, किनेर ल्याउं पैसा छैन,छोराछोरीले भोक लाग्यो भनेर रन्छन खुवाउन सक्दिन...,च्यातिएको लुगा फेरिदिन पनि सक्दिन,कापी कलम किन्ने पैसा पनि छैन– कमाएर खुवाउने घरमुलीको यो हालत भयो ,अब मैले  के गरेर यि छोरा छोरीलाई लाउन,खान र पढाउन सक्छु ?’
      फागुन १५ गते काठमाण्डौको बबरमहलमा बम विष्फोटमा परेर मारिएका तीन जना मध्ये बैरेनी गाविस वडा नम्बर १ कार्कीडांडाका कृष्णवहादुर तामाङको श्रीमती गोमा तामाङले आंसु खसाल्दै यि शव्द बोलिरहंदा गोमाको आसपासमा उभिएकाहरु सबेको मुहार निन्याउरो भयो ।



    करिब दुई महिना अघि बबरमहलमा भएको उक्त त्रासदीपूर्ण घटनामा परेर कृष्णवहादुरको ज्यान गएपछि उनको पांच जनाको परिवारको बिचल्ली भएको छ । आफ्नो जग्गामा गरेको खेतीले बर्षको दुई महिना पनि खान नपुग्ने भएपछि अर्काको ज्यालामजदुरी गरेर परिवार पाल्दै आईरहेका कृष्णवहादुर घर खर्च चलाउन ऋण खोज्दै काठमाण्डौ पुग्दा त्रासदीपूर्ण घटनामा परेर मारिएका थिए । कृष्णवहादुर संगै रहेका उनका बाबु सोमबहादुर तामाङको ज्यान त बच्यो तर घाइते शरिरले अब कमाउन नसक्नेभएपछि पांच जनाको परिवारको लालनपालन गर्ने अभिभारा गोमाको कांधमा आईपरेको छ ।
    घटनामा परेर बाबुको मृत्युभएपछि कृष्णवहादुरका छोरा छोरी बिद्यालय समेत गएका छैनन । घरमा खाने अन्न नभएको बेला छोरा छोरीलाई  कापी कलम किन्ने पैसा नभएकाले उनिहरुलाई  बिद्यालय पठाउन नसकेको गोमा बताउनुहुन्छ । वमविष्फोटमा परि ज्यान गुमाएका परिवारलाई सरकारले दश लाखका दरले राहत दिने घोषणा गरेको भएपनि आंफुहरुले अहिले सम्म उक्त सहयोग नपाएको गोमाले बताउाुभयो ।  सरकारले दिने भनेको सहयोग पाएमा त्यो पैसाले छोरा छोरीको पढाई र खानेकुराको जोहो गर्ने उहांको इच्छा रहेको छ । छरछिमेक र गाउंलेहरुको आडभरोसामा झण्डै २ लाख खर्च गरेर पतिको काजकिरीया सकेकी गोमालाई काजकिरिया गर्दाको ऋण कसरी तिर्ने भन्ने चिन्ता पनि  थपिएको छ । पृथ्वीराजमार्गको महेशदोभानवाट अढाई घण्टाको उकालो यात्रा पछि पुगिने कृष्णवहादुरको गाउं अहिले पनि स्तव्ध छ । भत्किन लागेको पुरानो घरमा बस्दै आईरहेका कृष्णवहादुरको मृत्युपछि उनको परिवारमा ठुलो संकट आईपरेको छिमेकी गोविन्द कुबंर बताउंनुहुन्छ । कृष्णबहादुरले घर बाहिर गएर कमाई गरेर ल्याउंथे भने श्रीमती गोमाले ११ बर्षिया १ छोरी  ९ र  ५ बर्षको दुई छोराको स्याहार सुसार तथा घरायसी काम धन्दा गरेर घर चलाउंदै आएका थिए । अब त्यो सबै कामको जिम्मेवारी गोमाको कांधमा आईपरेको पनि गोविन्दले बताउनुभयो ।
    तामाङ संस्कृति अनुसार किरिया चलाउंदा धेरै खर्च लाग्ने गरेको तामाङ समुदायको भनाई छ । किरिया बस्दा (पुरोहित)लामाका साथै  छरछिमेकी र इष्टमित्रलाई दिनको तीन पटक भोज खुवाउनुका साथै सोहि अनुसार दान गर्नुपर्ने भएकाले पछिल्लो समयमा तामाङ समुदायमा काजकिरिया खर्चिलो बन्दै गएको तामाङ अगुवाहरु बताउंछन ।
    बबरमहल घटनामा परेर कृष्णवहादुर संगै ज्यान गुमाएका बैरेनी गाविसको वडा नम्बर ६ पाल्चोक गाउंका मानवहादुर तामाङको परिवारको पनि पिडा उस्तै छ । कृष्णबहादुरको परिवारले ऋण खोजेर भएपनि काजकिरिया सकेको भएपनि  मानवहादुरको परिवारले भने खोजको बेला ऋण नपाउंदा किरिया उठाउन समेत नसकेको मानवहादुरका जेठा छोरा  मिलनले बताए । बमबिष्फोटमा मारिएका बैरेनी गाविसका दुवै तामाङ परिवार अति विपन्न भएकाले उनिहरुको दैनिकी निकै कष्टकर बन्न पुगेको नेपाल तामाङ राष्ट्रिय महासंघका महासचिव श्याम तामाङले बताउनुभयो ।
    सरकारले दिने भनेको राहत रकम पाउन नसकेपनि बुधवार नेपाल तामाङ राष्ट्रिय महासंघले दुवै परिवारलाई राहत सहयोग प्रदान गरेको छ । दोहा इन्टरनेशनल एयरपोर्टमा कार्यरत महासंघका कार्य समिति सदस्य शन्देश तामाङले दोहावाट संकलन गरेर पठाएको ५७ हजार ३ सय ९० रुपैया बुधवार गाउंमै पुगेर महासंघका महासचिव तामाङले दुर्बै परिवारलाई  आधा आधा गरेर रकम बितरण गर्नुभएको थियो ।
    बैरेनी गाविस वडा नम्बर ६ पाल्चोकका स्थायी वासिन्दा मानवहादुर तामाङको परिवारले मानवहादुरको काजक्रिया समेत गर्न नसकेको बताएका छन ।  निम्न आर्थिक अवस्था भएका मानबहादुरको एक श्रीमती ४ छोरी,३ छोरा छन । आफ्नो नाममा भएको चार हलको पाखोवारीमा  फलेको मकै र कोदोले बर्षको ४ महिनापनि राम्रो संग नधान्ने उनिहरुले बताए । मानवहादुरको मृत्युपछि उनको ९ जनाको परिवारको पनि बिचल्ली भएको छ । घरको मुलीनै बितेपछि आफुलाई  घर सम्हाल्न निकै सकस भएको  मानवहादुरकी श्रीमती सानुकान्छी तामाङले बताउनुभयो । आंफुहरुले कोहि नचिनेको कारणले सरकारले दिने भनेको सहयोग नपाएको हुन सक्ने उनिहरुको बुझाई छ ।
     गोमा र सानुकान्छी तामाङले आंफुसंग खर्च नभएकै कारण छोरा छोरीलाई पढाउन नसकिरहेको बेला विभिन्न सरकारी तथा गैर सरकारी निकायले तामझामका साथ शुरु गरेको भर्ना अभियान यि गरिवहरुको बस्ति सम्म पुग्न भने सकेको छैन । कुनै पनि मानिसको पहिलो अधिकार भनेको खान पाउनु हो । शहरवजारमा वसेर शिक्षा र अधिकारका नारा फलाक्नेहरुले यि गरिव परिवारलाई सहयोग गर्ने तर्फ चासो दिए उनिहरुलाई ठुलो राहत हुने बैरेनीवजारका सामाजिक कार्यकर्ता रामकुमार कार्की बताउंनुहुन्छ । जिल्लामा आदीवासी जनजातीका नाममा राजनिती गर्नेहरुको कमि नभएपनि बैरेनी गाविसका यि दुई परिवारले भोग्नुपरेको पिडामा मलहम लगाईदिने जिल्ला स्तरमा कोही नभेटिएको स्थानीय रामप्रसाद अधिकारीले बताउनुभयो

No comments:

Post a Comment

vfhcnbn

vggc