धादिङ÷ फोटो सहितको मतदाता नामावली संकलन कार्य शुरु भएपछि धादिङ जिल्लामा मतदाताको संख्या घटेको छ ।
फोटो सहितको मतदाता नामावाली संकलन गर्दा दोहोरो नाम कायम नरहने भएपछि मतदाता संख्या घट्न पुगेको हो । २०६४ सालको संविधान सभा निर्वाचनका बेला धादिङमा २ लाख ७६ हजार ५ सय २९ जना मतदाता कायम रहेकोमा २०६७ चैत मसान्त सम्ममा १ लाख ४१ हजार ३ सय ६१ जनाले मात्र फोटो सहितको मतदाता नामवालीमा आफ्नो नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय धादिङले जनाएको छ । फोटो सहितको मतदाता नामवलीमा नाम दर्ता गर्नका लागि नेपाली नागरिकता अनिवार्य रुपमा हुनुपर्ने भएकाले ४७ हजार ६ सय १३ जनाले नागरिकता नभएकै कारण नाम दर्ता गराउन पाएका छैनन भने १३ हजार ५ सय २४ जनाको नाम दर्ता गर्न बांकि रहेको छ ।
जिल्लामा नरहेका कारण ३८ हजार ६ सय ७० जनाको नाम फोटो सहितको मतदाता नामावलीमा दर्ता हुन सकेको छैन भने देशबाहिर रहेका कारण १७ हजार ७ सय ७६ जना अझैपनि फोटो सहितको मतदाता नामावलीमा दर्ता हुन बांकी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन अधिकृत रामकृष्ण अर्यालका अनुसार विगतमा उमेर पुरा नभएर या अन्य कारणले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता हुन बांकी रहेकाहरुको लागि लक्षित गरेर बैशाख ६ गते देखि धादिङ जिल्लाका पचासवटै गाविसमा मतदाता नामवाली संकलन कार्य शुरु गरिएको पनि जिल्ला निर्वाचन अधिकृत अर्यालले जानकारी दिनुभयो । तीन वटा निर्वाचन क्षेत्र रहेको धादिङ जिल्लामा विगतमा दोहोरो नामावली भएका मतदाताको संख्या धेरै रहेको भएपनि फोटो सहितको मतदाता नामावली जारी भएपछि दोहोरिएको नाम सिष्टमबाट स्वत पत्ता लाग्ने भएकाले पहिलो पटक नाम दर्ता भएको स्थानमा मात्र मतदाताको नाम कायम रहने र कसैले भुक्याएर दुईतिर राख्न खोजेमा त्यो सम्भव नहुने पनि निर्वाचन अधिकृत अर्यालले जानकारी दिनुभयो ।



No comments:
Post a Comment