धादिङ/ प्रभावकारी अनुगमन व्यवस्था नहुँदा धादिङ जिल्लाका धेरै शिक्षकले पोसाक भत्ता बुझेर पनि पोसाक खरिद गरेका छैनन् । सरकारले शिक्षक तथा कर्मचारीलाई पोसाक अनिवार्य गराउँदै पोसाक खरिदका लागि भनेर प्रतिकर्मचारी ७ हजार ५ सय रुपैयाँ उपलव्ध गराएको थियो ।
पोसाक खरिदका लागि भत्ता बुझेर लगेको वर्ष दिन बित्न लाग्दा पनि अधिकांश शिक्षकले पोशाक खरिद नगरेको भए पनि यस तर्फ कुनै निकायले चासो नदिँदा उक्त रकम दुरुपयोग भएको छ । धादिङ जिल्लामा प्राथमिक तहमा १ हजार २ सय ८१ जना र निम्न माध्यमिक तह र मावि तहमा गरी ३ सय ६१ जना समेत गरी कुल १ हजार ६ सय ४२ जना शिक्षक दरबन्दीमा कार्यरत रहेका छन् । पोसाकमा एकरूपता ल्याउने सरकारी योजना कार्यान्वयन गराउन चालू आर्थिक वर्षबाट अन्य कर्मचारी सरह शिक्षकलाई पनि सरकारले प्रतिव्यक्ति ७ हजार ५ सय रुपैयाँ पोसाक खरिदका लागि भनेर उपलव्ध गराएको थियो ।
सरकारले घोषणा गरेको पोसाक नलगाए पनि शिक्षकले पोसाक खरिदका लागि भनेर जिल्ला शिक्षा कार्यालय मार्फत उपलव्ध गराइएको रकम भने बुझेर लगिसकेका छन् । केही विद्यालयले पोसाकको सुरुवात गरे पनि जिल्लाका धेरै विद्यालयमा पोसाक अनुशासन कायम हुन सकेको छैन । पोसाक खरिद गर्नका लागि भनेर उपलव्ध गराइएको रकम कार्यालयले सम्बन्धित व्यक्तिलाई निकासा दिइसकेकाले पोसाक खरिद गरेर लगाउने जिम्मेवारी सम्बन्धित शिक्षकको भएको जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत शिव रेग्मीले बताए ।
पोसाक भत्ता बुझिसकेका शिक्षकले पोसाक खरिद नगरी रकम दुरुपयोग गरिरहेका बेला अस्थायी तथा राहत दरबन्दीमा कार्यरत शिक्षकले पनि स्थायी दरबन्दीका शिक्षक सरह पोसाक भत्ता पाउनुपर्ने माग राख्दै आन्दोलन गर्दै आइरहेका छन् । एउटै विद्यालयमा स्थायी दरबन्दीको भन्दा धेरै शिक्षक अस्थायी, राहत र निजी श्रोतबाट पारिश्रमिक पाउनेहरु हुने भएकाले अनिवार्य पोसाक कार्यान्वयनमा आउन नसकेको शिक्षकहरूको गुनासो छ । विद्यालयका शिक्षकले अनिवार्य रूपमा पोसाक लगाउन नसक्ने हो भने उनीहरूको नाममा निकासा भएको रकम राज्यकोषमा फिर्ता गरेर शैक्षिक विकासका लागि खर्च गरिनुपर्ने निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सन धादिङका अध्यक्ष शान्तविक्रम वानियाँले बताए ।



No comments:
Post a Comment