केशव अधिकारी/ उज्यालो । धादिङ, जेठ २८ – केही वर्ष पहिलेसम्म स्वास्थ्य बिषय अन्तर्गत यौन तथा शारीरिक विकासक्रमको पढाई हुने समयमा अधिकांश छात्रा कक्षामा भेटिदैनथे । तर हिजो आज छात्रछात्राहरु यौनका बारेमा खुलेर कुराकानी गर्छन् ।
उनीहरु आफ्नै उमेर समुहका साथीसँग किशोरावस्थामा देखिने परिवर्तनका बारेमा पढ्छन् र पढाउँछन् । उनीहरु महिनावारी, स्तनको आकार र समस्या, महिनावारी, यौन जिज्ञासा, परिवार नियोजनका साधनको प्रयोग लगायतका विषयमा खुलेर बहस गर्छन ।
किशोरावस्थामा हुने शारीरिक परिवर्तनका बारेमा सचेत गराई उनीहरुमा आउन सक्ने समस्याको समाधान गर्न धादिङ जिल्ला स्वास्थ्य कार्यालयले जिल्लाका १० वटा विद्यालयमा परीक्षणका रुपमा साथी शिक्षा कार्यक्रम सञ्चालनमा ल्याएपछि यो परिवर्तन आएको हो ।
स्थानीय स्वास्थ्य चौकीसँग समन्वय गरि सञ्चालन गरिएकोसाथी शिक्षा कार्यक्रममा साथी शिक्षकको भूमिका विद्यार्थी स्वयंले निर्वाह गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चालु आर्थिक बर्षका लागि तय गरेको बार्षिक कार्यक्रमको आधारमा जिल्ला स्वास्थ्य कार्यालय धादिङले जिल्लाको नौविसे, थांक्रे, जिवनपुर, मैदी, सुनौलावजार, वेनिघाट, गजुरी, सल्यानटार, बुढाथुम र गजुरी गाविसमा किशोर किशोरी सूचना केन्द्र स्थापना गरेको छ । सोही केन्द्र मार्फत नजिकैको माध्यमिक बिद्यालयमा साथी शिक्षा कार्यक्रम शुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय धादिङका परिवार नियोजन सुपरभाइजर अधिकृत मच्छिन्द्रनाथ न्यौपानेले बताउनुभयो ।
‘अझैपनि यौन तथा प्रजनन स्वास्थ्य सम्वन्धि आधारभुत विषयलाई पाठ्यक्रममा राख्न नसकिएको अवस्थामा किशोर किशोरीहरु स्वयं आफ्नो बारेमा खुलेर सकारात्मक छलफल गर्नु निकै राम्रो सवाल हो’, न्यौपाने भन्नुभयो ।
आफ्नै शरीरप्रति नकारात्मक धारणा भएमा आत्मसम्मान र आत्मविश्वास घट्ने र हीनताबोध उत्पन्न हुने भएकाले किशोर किशोरीलाई यो कार्यक्रम निकै प्रभावकारी देखिएको पशुपती मावि साङकोषका प्रधानाध्यपक मोहनबहादुर कंडेल बताउनुहुन्छ । ‘शारीरिक स्वरुप भनेकोे कुनै पनि व्यक्तिको आफ्नै शरीर र त्यसको बनावटप्रतिको धारणा वा भावनाहरु नै हो’, उहाँले भन्नुभयो, ‘शारीरिक स्वरुपप्रति सकारात्मक हुनु स्वस्थ विकासको लागि जरुरी छ ।’ साथी शिक्षा कार्यक्रम सञ्चालन भएपछि किशोरकिशोरीहरुमा आफ्नो शरीरप्रति सकारात्मक धारणाको विकास हुनुका साथै सकारात्मक व्यक्तित्व विकासमा मद्धत पुगेको कंडेलले बताउनुभयो ।
परीक्षणका रुपमा शुरु गरिएको साथी शिक्षा कार्यक्रम सञ्चालनका लागि जिल्ला स्वास्थ्य कार्यालयले छनौटमा परेको विद्यालयका स्वास्थ्य बिषयका शिक्षक , विद्यालयमा गठन गरिने किशोर किशोरी समुहका दुई जना बिद्यार्थी र नजिकैको स्वास्थ्य संस्थाका एक जना स्वास्थ्यकर्मिलाई आधारभूत तालिम दिएर श्रोत व्यक्तिको रपमा तयार गरेको छ ।
सामान्यतया १० वर्ष उमेरदेखि १९ वर्ष सम्मको उमेर समूहलाई किशोर किशोरी मानिन्छ । यतिवेला उनीहरुमा यौनसम्बन्धी परिवर्तन एकदमै छिटो छिटो हुने भएकाले पनि किशोर किशोरीलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरिएको जिल्ला स्वास्थ्य कार्यालय धादिङका वरिष्ठ जनस्वास्थ्य प्रशासक मोहम्मद दाउद बताउनुहुन्छ ।
(उज्यालो अनलाइन बाट )



No comments:
Post a Comment