धादिङ, १६ असार / नयाँ पर्यटन पदमार्गको पहिचानका लागि उत्तरी धादिङको भ्रमणमा गएको पदयात्रीहरुको टोली १८ दिनको पदयात्रा सम्पन्न गरि फर्किएका छन । धादिङ जिल्लाको उत्तरी क्षेत्र पर्यटनको उत्कृष्ठ गन्तब्यका रुपमा विकास गर्न नयाँ पर्यटन पदमार्गको पहिचानका लागि पर्यटन व्यवसायी,तथा विभिन्न क्षेत्रमा कृयाशिल व्यक्तिहरुको एक टोली उत्तरी धादिङको भ्रमणमा गएको थियो ।
ट्रेकिङ एजेन्सिज एसोशियसन अफ नेपाल ( टान) को संयोजनमा धादिङ जिल्लामा नयाँ पर्यटन पदमार्ग गन्तब्य खोजि गर्न गएको करिब ३० जना पदमार्गीहरुको टोलि १८ दिनको पैदल यात्रा सकेर शुक्रवार धादिङवेशी आइपुगेको हो । पदयात्रापछि शुक्रवार धादिङवेशीमा पत्रकारहरु संग भेटघाट गर्दै टोलीले धादिङ जिल्लामा पर्यटनको सुनौलो गन्तब्य बन्ने प्रशस्त आधारहरुको पहिचान भएको जानकारी दिएको छ । गणेश हिमाल ट्रेकिङ एक्सप्लोरेशन ट्रेल नाम दिइएको सो पदयात्रा टोलीमा पर्वतारोहणविद, नक्सांकन विद, फोटोग्राफर तथा भिडियो डकुमेन्ट्री निर्माण प्राविधिक लगायतका पदयात्रीहरुको सहभागिता रहेको बताईएको थियो ।
पदयात्रा पर्यटनको लागि धादिङको उत्तरी क्षेत्र उत्कृष्ठ गन्तब्य रहेको र यहाको प्राकृतिक सुन्दरता, जैविक विविधता र सांस्कृतिक विविधताले पर्यटकलाई विशेष आकर्षण गर्न सक्ने पदयात्रा अभियानका संयोजक राजेन्द्र सुवेदीले बताउंछन । पदयात्रा गाइड डिबि गुरुङ, अमेरिकी नियात्रा लेखक एलएन जोलाइन, नक्सांकनविद दिपक श्रेष्ठ, पर्यटन ब्यवसायी सरोज न्यौपाने लगायतले पदयात्राको सुन्दर अनुभवहरु लिपीबद्ध गरेर वाहिर ल्याउने बताएका छन । धादिङ जिल्लामा नयां पर्यटनमार्ग स्थापीत भए सो मार्गमा सुरक्षाको लागि थप ब्यवस्था गरिने धादिङका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले प्रतिबद्धता ब्यक्त गरेका छन ।
पर्यटनव्यवसायी रमेश धमला, उद्योग वाणिज्य संघ धादिङका अध्यक्ष प्रभातकिरण सुवेदी, नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सितारामप्रसाद बर्मा लगायतले जिल्लाको समग्र उन्नतीका लागि धादिङको पर्यटन विकासलाई विशेष प्राथमिकता दिन टान र जिल्ला विकास समिति लाई आग्रह गरेका छन ।



No comments:
Post a Comment