धादिङ, असार/ धादिङका कृषकको फलफूलखेतीतर्फको आकर्षण बढ्दै गएको छ ।
लामो समयसम्म आम्दानी लिन सकिने भएकाले यहाँका कृषक व्यावसायिक
फलफूलखेतीतर्फ लागेका हुन् ।
हावापानी सुहाउँदो र बजारसम्मकोे पहुँच भएका कारण मैदी, नीलकण्ठ र ढोला गाविसलाई फलफूल मिसन कार्यक्रमअन्तर्गत लिच्चीको पकेट क्षेत्र बनाउन कृषकलाई ७ हजार ५ सय बिरुवा हस्तान्तरण गरिएको छ ।
धादिङ जिल्ला तरकारी उत्पादन तथा फलफूलखेतीका लागि अनुकूल भएकाले मैदी–८ र ९ का छापथोक, द्वारथोक, पोखरीथोक, काफलस्वांरा, रातमाटा, माझिटार, जोगेटार र पिपलटारका कृषकलाई व्यावसायिक लिच्चीखेतीका लागि ४ हजार ५ सय बिरुवा दिइसकिएको वरिष्ठ वागवानी विकास अधिकृत रामहरि सोतीले जानकारी दिए ।
लिच्चीका बिरुवा, स्प्रेयर, सिक्केचर, करौती र वर्षे पानी संकलन गर्न प्लास्टिक पोखरीका लागि सामुदायिक संस्था तथा समूहलाई ५० प्रतिशत अनुदान उपलब्ध गराइने वागवानी विकास अधिकृत केशव घिमिरेले बताए । उनका अनुसार चालू आवमा नलाङ र जोगिमारा गाविसमा साढे १२ हेक्टरमा ३ हजार ७ सय सुन्तलाका बिरुवा र सुनौलाबजार, खाल्टे, वेनिघाट, नलाङ, महादेस्थान र सल्यानकोट गाविसमा साढे ५ हेक्टरमा १ हजार ६ सय कागतीका बिरुवा लगाइएको छ । जिविसको सहयोगमा १० हेक्टरमा खेती भएको समेत सोतीले बताए ।
कृषकले तरकारी उत्पादन गरेर जिल्लालाई जसरी चिनाएका छन् फलफूलखेती तर्फबाट पनि त्यसरी नै चिनाउन विभिन्न सरकारी र गैरसरकारी संघ–संस्थासँग हातेमालो गरी काम गर्ने वरिष्ठ कृषि विकास अधिकृत नीलकण्ठ पोखरेलले जनाए । व्यावसायिक फलफूल मिसन कार्यक्रमअन्तर्गत ५० हेक्टरमा लिचीका बिरुवा लगाइसकिको छ । गत आवसम्ममा २ हजार ५ सय ६० हेक्टरमा फलफूलखेती भइरहेको योजना अधिकृत दिपेश श्रेष्ठले जानकारी दिए ।



No comments:
Post a Comment