धादिङ, साउन ३१ – न्यूनतम कार्यसम्पादनका अधिकांश शर्त पुरा गरेका कारण
जिल्ला विकास समिति धादिङले स्थानीय विकास मन्त्रालयबाट थप २५ प्रतिशत
अनुदान रकम पाउने भएको छ । न्यूनतम शर्त तथा कार्यसम्पादन मापनमा आर्थिक
बर्ष २०६७/६८ मा जिल्ला विकास समिति, धादिङले कुल ६५ अङ्क प्राप्त गरेकाले
थप अनुदान पाउने भएको धादिङका आन्तरिक लेखा परीक्षक हरि पाटामगरले
बताउनुभयो ।
आर्थिक वर्ष २०६४/६५ मा न्यूनतम शर्त तथा कार्यसम्पादनमा ९३ प्रतिशत अंक
ल्याएर धादिङ देशभरिकै पहिलो बन्न सफल भएको धादिङको स्तर त्यसयता दुईवर्ष
खस्किएको थियो । जिल्लाका पचास गाविसमध्ये त्रिपुरेश्वर, धुषा, तिप्लिङ र
मुरलीभञ्ज्याङ गाविस भने आर्थिक वर्ष २०६७/६८ मा न्युनतम शर्तमा
अनुत्तिर्ण भएका छन् ।
स्थानीय निकायको कार्यसम्पादनलाई चुस्तदुरुस्त र प्रभावकारी स्थानीय विकास
मन्त्रालयले सात सूचकहरुका आधारमा मूल्याङ्कनको मापदण्ड तय गरेको छ ।
स्थानीय स्वायत्त शासन ऐन, २०५५ को दफा १४८ मा स्थानीय निकायको
कार्यसम्पादन चुस्त, दुरुस्त र प्रभावकारी बनाउन सुरु गरिएको यो
प्रणालीअनुरुप ३६ देखि ६० अङ्क ल्याउने जिविसको अनुदान यथावत रहने, ६० देखि
८० अङ्क ल्याउने जिविसको अनुदान २५ प्रतिशत थप हुने र ८० प्रतिशतभन्दा बढी
अङ्क ल्याउनेलाई ३० प्रतिशत थप अनुदान दिइने व्यवस्था रहेको छ ।



No comments:
Post a Comment