धादिङ,/वर्षेनी सवारी दुर्घटनाको क्रमबढ्दै गएपछि देशको ६७ जिल्लाको राजधानी प्रवेशद्वारका रुपमा रहेको पृथ्वीराजमार्गको यात्रा जोखिमपूर्ण बन्दै गएको छ ।
देशका ६७ जिल्लाहरुको राजधानी प्रवेश गर्ने पृथ्वी राजमार्गमा दिनानुदिन हुने सवारी दुर्घटना बढ्दै गएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आर्थिक बर्ष २०६७÷०६८ मा पृथ्वी राजमार्ग अन्तर्गत धादिङ खण्डमा मात्रै साना ठूला गरी १ सय ४७ सवारी दूर्घटना भएकोमा ५६ जना मानिसले घटनास्थल मै ज्यान गुमाएका छन् भने १ सय ८१ जना सख्त घाइते र १ सय २२ जना सामान्य घाइते भएका थिए । यसै गरि साउन महिना लागेपछि कृष्णभिरमा भएको दुर्घटनामा परेर १७ जनाको ज्यान गएको छ भने अझै पनि केहि हराईरहेका छन । त्यसपछि पृथ्वीराजमार्गकै थांक्रेमा भएको दुर्घटनामा परि थप एक जनाको ज्यान गईसकेको छ । विगतको आर्थिक बर्षको तुलनामा आर्थिक बर्ष २०६७÷०६८ मा ८८ वटा सवारी साधन दुर्घटना हुँदा ५३ जनाको ज्यान गएको थियो ।
चालकको लापरवाही, तिब्र गति, चालकबाट हुने मादक पदार्थ सेवन, साँघुरो सडक र सडकको जिर्ण अवस्था सवारी साधन दुर्घटनाको मुख्य कारणका रुपमा रहेको सरोकारवालाहरुको भनाई छ । धादिङ जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक हेमन्त थापाका अनुसार राजमार्गमा दिउँसो १२ बजे देखि साँझ ६ बजे सम्म र विहानी समयमा सवारीको चाप बढि हुने गर्दछ । सवारी साधनको चाप बढेको बेलामा नै दुर्घटना पनि बढी हुने गरेको प्रहरी निरिक्षक थापाको भनाई छ । धादिङ जिल्ला भित्रको राजमार्गमा बस, ट्रक र मोटरसाइल अत्याधिक मात्रामा दुर्घटना हुने गरेको प्रहरी कार्यालयको तथ्याङ्कले देखाउंदछ । लामो दुरीका बसहरुले अत्याधिक गतिमा सवारी हांक्ने,मोटरसाइकल र साना सवारी साधनलाई साइड समेत नदिने समस्या एकातिर रहेको छ भने स्थानीय रुटमा चल्ने सवारी साधनले पनि अन्य सवारी साधनको लेन मिचेर सवारी हांक्दा दुर्घटना हुने गरेको ट्राफिक प्रहरीको भनाई छ । राजमार्गमा चल्ने सवारी साधनका चालकहरुले मादक पदार्थ सेवन गरेको पाईएमा तत्काल कारवाही गर्ने गरिएपनि कतिपय सवारी साधनका चालकहरुले मादक पदार्थ सेवन गरेर सवारी चलाउंदा दुर्घटनामा पर्ने गरेको पाईएको प्रहरी निरिक्षक थापाले बताए ।
बिग्रिएको सडक समयमै मर्मत नहुनु, चालकको लापरवाही र चालकले मादक पदार्थ सेवन गरी गाडी चलाउनु नै दुर्घटनाको मुल कारण भएको ट्राफिक प्रहरी कार्यालयका प्रमुख थापा बताउंछन । दुर्घटना भएलगत्तै आवश्यक उद्धार सामग्रीको अभाव, दुर्घटनाको सूचना समयमै सम्बन्धित निकायले प्राप्त गर्न नसक्नु र लामो राजमार्गमा प्रयाप्त जनशक्तिको पर्याप्तता नभएका कारण राजमार्गमा भएका दुुर्घटनामा परी घाइते भएकाहरुलाई समयमै उद्धार गर्न नसकेर पनि धेरै मान्छेले ज्यान गुमाउन परेको राजमार्ग दुर्घटना उद्धारकर्मि राममणी थपलिया बताउंछन । अन्य जिल्लाको तुलनामा धादिङ जिल्लामा भएका दुर्घटनामा परेकाहरुलाई सूचना पाए लगत्तै आफूहरुले तत्काल तालिम प्राप्त उद्धारकर्मिहरुवाट उद्धारगर्दैै आईरहेको थपलिया बताउँछन । उद्धारका लागि तत्काल उद्धारकर्मी दुर्घटनास्थलमा पठाएपनि उद्धारका लागि चाहिने सामाग्री सकिंदै जांदा थप सामग्री संकलनका लागि आर्थिक अभाव हुंदा उद्धारकर्मीहरु खालीहात उद्धारकार्यमा जुट्नु पर्दा थप समस्या हुने गरेको उनले बताए ।
सडकमा जताततै हुने ठुला खाल्डाखुल्डी र सडक छेउका पर्खालहरु भत्किएको बर्षौ हुंदा पनि पुर्न निर्माण नहुनु,सडकको दायांवायांको सिमा मिचेर घर टहरा निर्माण गरिनु,वालुवा तथा ढुङगा उत्खननका लागि सडकको प्रयोग गरिनु,मुख्य सडकनै मिच्ने गरि सहायक सडकहरुको निर्माण गरिनु र सडकमा निर्माण सामाग्री राखिनु पनि दुर्घटनाको मुख्य कारणका रुपमा रहेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका वागमती अञ्चल सदस्स शुरेश आचार्य बताउंछन । धेरैजसो दुर्घटनाको कारणमा चालकलाई दोषि देखाएर अन्य निकाय जिम्मेवारीवाट पन्छिने गरेको बताउंदै कुनै पनि चालकले जानी जानी दुर्घटना नगराउने आचार्यको भनाई छ । कतिपय लामो रुटमा चल्ने बसमा एकजना मात्र चालक भएका कारण लामो दुरीमा सवारी चलाउंदा थकाई लाग्ने भएकाले व्यवसायीले यसतर्फ समयमै ध्यान दिनुपर्ने सुझाव आचार्यको छ ।
धादिङ जिल्ला भएर दैनिक छ हजारका हाराहारीमा सवारी साधन र हजारौँका संख्याका यात्रु ओहोरदोहोर गर्ने गर्दछन । सवारी दुर्घटनालाई न्युनिकरण गर्न सम्बन्धित निकायले समयमै चासो दिन नसकेको धादिङ जिल्ला भित्रको राजमार्ग क्षेत्रमा हुने दुर्घटनामा परेकाहरुको उद्धारका लागि स्वयंसेवक परिचालन गर्दै आईरहेको सस्था परिवर्तनका लागि प्रतिवद्ध समाजका अध्यक्ष बोधनारायण श्रेष्ठ बताउंछन । समयमै सडक मर्मत गर्ने जिम्मा लिएर बसेको सडक विभागको काममा हुने वेवास्ताले सडक दुर्घटना अझै बढ्ने गरेको धेरैको भनाई छ । दुर्घटना पछि समयमै उद्धारका लागि उद्धार समाग्री र सो अनुरुपको जनशक्ति नहुनु ले पनि दुर्घटना पछि ज्यान गुमाउनेको संख्या बढिरहेको ईलाका प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक विनोद घिमिरे बताउँछन् । दैनिक ६७ जिल्लाका मानिसहरु राजधानी ओहोर दोहोर गर्ने मुलुककै व्यस्त राजमार्गमा दिनहुं जसो हुने गरेको सवारी दुर्घटनालाई न्युनिकरण गर्न सबै पक्षको ध्यान समयमै नजाने हो भने दुर्घटना अझै बढ्दै जाने र धेरैले अकालमा ज्यान गुमाउनु पर्ने अवस्था बढ्दै जान सक्नेछ ।



No comments:
Post a Comment