धादिङ/आँखुखोला जलविद्युत् आयोजनाको निर्माण भदौको अन्त्यसम्म सम्पन्न हुने भएको छ । ‘भदौको अन्त्यसम्ममा व्यापारिक उत्पादन थाल्ने लक्ष्यसाथ काम गरिरहेका छौं,’ आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडका कार्यकारी निर्देशक विश्वनाथ कँडेलले नेत्रावती अनलाइनसँग को कुराकानीमा भने । आँखुखोला जलविद्युत् आयोजनाको जडित क्षमता ८ दशमलव ४ मेगावाट रहेको छ ।
धादिङ जिल्लामा रहेको सो आयोजनाको ९६ प्रतिशत काम सम्पन्न भइसकेको बताइन्छ । भदौको १५/२० गतेसम्म आयोजना निर्माणको सम्पूर्ण काम सकिने पनि कँडेलले बताए । हाल आयोजनाको पावर हाउस र सिभिलको काम द्रुतगतिमा अगाडि बढेको छ । ‘आयोजनाको काम सकिनेबित्तिकै परीक्षण उत्पादनको काम थाल्नेछौं,’ कँडेलले भने ।
आँखुखोला जलविद्युत् आयोजना निजीक्षेत्रबाट निर्माण भएको सबैभन्दा पहिलो ‘क्यासकेड आयोजना’ हो । यस आयोजनामा सुक्खायाममा समेत विद्युत् उत्पादन कम हुन नदिनका लागि ६ घण्टा विद्युत् उत्पादन गर्न पुग्ने पानी रोक्न सक्ने क्षमताको ताल बनाइएको छ । यसका लागि २ दशमलव ५ किलोमिटर लम्बाइ र १ किलोमिटर चौडाइको ताल निर्माण गरिएको छ ।
काठमाडौंबाट १ सय ३० किलोमिटर दूरीमा रहेको यस आयोजनाले ५५ जना स्थानीय बासिन्दालाई रोजगारी दिएको छ । आयोजनाकै खर्चमा १४ किलोमिटर प्रसारण लाइन निर्माण गरिएको छ । साथै, धादिङबेँशीमा १ करोड ५५ लाख रुपैयाँमा सबस्टेशन र स्थानीय बासिन्दाका लागि ४२ किलोमिटर बाटो बनाइएको पनि कम्पनीले जानकारी गराएको छ । यस कम्पनीले आयोजना निर्माणका लागि सरकारले उपलब्ध गराएको ऋण लिने तयारी गरिरहेको छ । सरकारले निर्माणाधीन आयोजनालाई उपलब्ध गराउने सुविधाको रकम यस आयोजनाले पनि पाउने भएको छ । यसले १० प्रतिशत ब्याजमा रू. १६ करोड ८० लाख सहुलियतको कर्जा पाउने भएको छ । ‘सम्भवतः अर्को हप्तासम्ममा पाउने छौं,’ कँडेलले भने ।



No comments:
Post a Comment