धादिङ, असोज १४ – धारिलो हतियार प्रयोग गरि लुटपाटमा संलग्न पाँच जना
लुटेरालाई जिल्ला प्रहरी कार्यालय धादिङले सार्वजनिक गरेको छ । दशैँ तिहार
जस्ता चाड नजिकिँदै जाँदा जिल्लाका विभिन्न स्थानमा लुटपाटका घटना हुन
थालेपछि सक्रियता बढाएको प्रहरीले विभिन्न लुटपाटका घटनामा संलग्न पाँच जना
लुटेरालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयमा प्रहरीले धादिङ जिल्लाको तिप्लिङ गाविस ९ का १८
बर्षिय सुदिप घले, जिल्लाकै झार्लाङ गाविस १ का १८ बर्षिय संजय लामा तामाङ,
२२ बर्षिय मदन भनिने राजु तामाङ सोहि ठाउँका १६ बर्षिय अमृत तामाङ र
जिल्लाकै सेमजोङ गाविस वडा नम्बर ९ बस्ने १७ बर्षिय प्रेम तामाङलाई
सार्वजनिक गरेको हो ।
प्रहरीले सार्वजनिक गरेको समुहले असोज ११ गते राती धादिङको मैदी गाविस १
का अहिबहादुर तुम्सिङ र उहाँकी श्रीमती गायत्री तुम्सिङलाई सुतिरहेको
अवस्थामा खुकुरी प्रहार गरी गायत्रीको कानमा लगाएको सुनको मारवाडी लुटेर
भागेको स्वीकार गरेको प्रहरीले जनाएको छ । सोहि समुहले असोज १२ गते
जिल्लाकै झार्लाङ गाविस २ घर भई हाल धादिङबेसी बस्ने १७ बर्षिय अब्राम
तामाङलाई खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।
प्रहरीबाट लुकेर बसेका पाँचै जनालाई गत शुक्रबार राती सदरमुकामको एक होटलबाट प्रहरीले पक्राउ गरेको हो ।
निजहरुलाई हिरासतमा राखी छानविनका लागि जिल्ला अदालतबाट सात दिनको म्याद
मागी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव
उपरिक्षक विकासराज खनालले बताउनुभयो ।
पक्राउ परेकाहरुबाट सुनको मारवाडी एक जोर, नगद ३० हजार, मोबाइल पाँच थान र खुकुरी एक थान समेत वरामद भएको प्रहरीले जनाएको छ ।
एक सात अघि पनि प्रहरीले पृथ्वीराजमार्गको नौविसे नजिकबाटै ट्रक चालकलाई लुटेर भाग्दै गरेका पाँच जना लुटेरा पक्राउ गरेको थियो ।



No comments:
Post a Comment