केशव अधिकारी,
धादिङ
। सिंचाईका लागि पर्याप्त पानी नहँुदा खेतबारीमा परम्परागत खेती गर्दै
आइरहेका किसानहरुले सरल थोपा सिंचाई कार्यक्रमको माध्यमबाट व्यावसायिक
तरकारीखेती गरेर आयआर्जन गर्न थालेका छन् । गाउँमा सरल थोपा सिंचाई कार्यक्रम लागू भएपछि काठमाडांैमा निजी कम्पनीमा खाइरहेको जागिर छाडेर एक वर्षअघि घर आएका मुरलीभन्ज्याङ–२ विर्ताबेसीका रुद्रनारायण श्रेष्ठ अहिले व्यावसायिक तरकारी उत्पादक भएका छन् ।
श्रेष्ठले आफ्नो घरनजिकैको चार आना खेतमा परीक्षणका रुपमा प्लाष्टिक टनेल बनाएर १०५ बोट बिरुवा लगाएर सुरू गरेको गोलभेँडाखेती अहिले व्यावसायिक हुन पुगेको छ । विर्ताबेसीका अन्य २२ जना किसानले पनि रुद्रले जस्तै गरी सरल थोपा सिंचाई प्रविधिबाट सिंचाई गरेर व्यावसायिक रुपमा गोलभेँडाखेती गर्दै आइरहेका छन् ।
सदरमुकामनजिकै रहेको बस्ती भएका कारण उत्पादित गोलभेँडा बिक्रीका लागि बजार खोज्दै जानु नपर्ने भएकाले पनि विर्ताबेसीमा पछिल्लो समयमा परम्परागत खेती भन्दा व्यावसायिक तरकारीखेतीतर्फ किसानहरुको आकर्षण बढ्न थालेको हो ।
धानखेती गर्दा वर्षभरिमा दुई हजार रुपैयाँ पनि आम्दानी लिन नसकिने चार आना जग्गामा लगाएको गोलभेँडाखेतीबाट एक वर्षमा १५ हजार आम्दानी भएपछि यस वर्षदेखि अरु जग्गामा पनि टनेलभित्र गोलभेँडाखेती बिस्तार गर्न लागेको रुद्रनारायणले बताए ।
सिंचाईको सुविधा पुग्न नसकेका ग्रामीण भेगका किसानहरुलाई लक्षित गरी डेनमार्क दूताबासको सहयोगमा गैरसरकारी संस्था एक्सन नेपालले धादिङ जिल्लाको पाँच गाविसमा सञ्चालन गरेको ग्रामीण महिलाहरुको जीविकोपार्जनका लागि पानी र कृषि कार्यक्रमबाट किसानहरु लाभान्वित हुन थालेका हुन् ।
धादिङ जिल्लाको मुरलीभञ्ज्याङ, सुनौलाबजार, कुम्पुर, कल्लेरी र सलाङ गाविसका एक हजार घर परिवारका बीच परीक्षणका रुपमा पहिलो चरणको कार्यक्रम सञ्चालनमा आएको एक्सन नेपालका कृषि प्राविधिक तेजमणि पन्थ बताउँछन् ।
कार्यक्रम लागू भएका प्रत्येक गाविसमा दुई सय किसानलाई सरल थोपा सिंचाई प्रविधिका लागि संस्थाले सहयोग गर्नुका साथै व्यावसायिक तरकारीखेतीका लागि प्राविधिक सहयोगसमेत गर्दै आइरहेको कृषि प्राविधिक पन्थको भनाइ छ । साथै कार्यक्रम लागू भएका गाउँबस्तीमा खेतीबालीमा विषादीको प्रयोगमा कमी ल्याउन किसानलाई जागरुक बनाउने तालिम तथा चेतनामूलक कार्यक्रमहरु पनि सञ्चालन हुने गरेको उहाँले बताउनुभयो ।
सरल थोपा सिंचाई प्रविधिले पानीको सदुपयोग हुनुका साथै थोरै जग्गामा पनि व्यावसायिक गोलभेँडा खेती गर्न चाहने किसानलाई सघाउ पुग्ने गरेको किसानहरुको भनाइ छ ।
ग्रामीण महिलाहरुको जीविकोपार्जनका लागि पानी र कृषि कार्यक्रममा अहिले सम्म ५० वटा किसान समूहको गठन भएकोमा तीन सय जनाले व्यावसायिक रुपमा गोलभेँडा तथा अन्य तरकारीखेती गर्दै आइरहेका छन भने सात सय जनाले सीपको सदुपयोग गर्दै मौसमीखेती गर्न थालेका छन् ।
गाउँगाउँसम्म सीप र प्रविधिको बिस्तार हुने हो भने थोरै जग्गा जमिन हुने किसानले पनि आयआर्जनका लागि व्यावसायिक तरकारीखेती गर्न सक्ने धादिङ जिल्लाका पाँच गाविसमा सञ्चालनमा सरल थोपा सिंचाई प्रविधिले देखाएको छ ।



No comments:
Post a Comment