Friday, November 9, 2012

होटलविरुद्ध यात्रुले दिन थाले उजुरी



धादिङ । राजमार्गका होटलबाट ठगिँदै आएका यात्रुले आफू ठगिएको सूचना उजुरीका रुपमा दर्ता गराएर न्यायको खोजी गर्न थालेका छन् । जिल्ला अनुगमन समिति, जिल्ला होटल संघ र खाद्यअधिकार जिल्ला सञ्जालले संयुक्त रुपमा राजमार्गका होटलमा खानेकुराको मूल्यसूची र उजुरी तथा गुनासा राख्नका लागि प्रत्येक होटलमा टेलिफोन नम्बरसहित जानकारीपत्र टाँस गरेपछि यात्रुले आफूलाई अप्ठेरो पर्दा सम्बन्धित निकायलाई जानकारी दिन थालेका हुन् ।


धादिङ जिल्लाअन्तर्गत पर्ने पृथ्वीराजमार्गको गजुरी, बेनीघाट, धुषा र जोगीमारा क्षेत्रका होटलहरुमा यात्रुहरुबाट खाना तथा खाजाको चर्को मूल्य असुल गर्ने र कतिपय होटलहरुले खसीको मासु भनी यात्रुहरुलाई झुक्याइ बाख्रीको मासुसमेत बिक्री गर्ने गरेको भन्ने गुनासो यात्रुले फोनमार्फत जानकारी दिएलगत्तै जिल्ला अनुगमन समितिले स्थलगत अनुगमन गर्दा गुनासो सही भएको पाएपछि समितिले दोषीलाई कारबाहीको प्रक्रिया अघि बढाउन थालेको छ ।

कात्तिक १८ गते शनिबार अनुगमन टोली पृथ्वीराजमार्गमा पर्ने बेनीघाट–१ स्थित होटल शुभयात्रा एण्ड लजमा पुग्दा खाना खाँदै गरेका यात्रु चितवनका राजेन्द्र दुवाडीले तोकिएको भन्दा बढी मूल्य लिएको भन्दै होटल सञ्चालकविरुद्ध उजुरी गरेलगत्तै अनुगमन टोलीले होटल सञ्चालकलाई कारबाहीका लागि सिफारिस गरेको जिल्ला अनुगमन समितिका संयोजक एवम् सहायक प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले बताउनुभयो ।

यात्रुले दिएको उजुरीका आधारमा संयुक्त अनुगमन टोलीले होटलको सरसफाइ, खाना, खाजालगायतका खाद्य परिकारहरुको गुणस्तर तथा मूल्यका बारेमा अध्ययन अनुगमन गर्दा  शुभयात्रा होटलले कुखुराको मासु र खानाको दुई सय रुपैयाँ लिएको पुष्टि भएपछि होटल सञ्चालक सुजन अधिकारी कारबाहीमा परेका हुन् । 

संयुक्त बजार अनुगमन समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला होटल संघ, खाद्यअधिकार जिल्ला सञ्जाललगायतको संयुक्त प्रयासमा कायम गरिएको मूल्यसूचीमा कखुराको मासु र भातको मुल्य एक सय ८० रुपैयाँ तोकिएको थियो । होटल सञ्चालकले तोकिएको भन्दा बढी मूल्य लिई खानेकुरामा ठगी गरेको भन्दै दुवाडीले कारबाहीका लागि सम्बन्धित होटलको बिलसमेत संलग्न राखी अनुगमन समितिलाई निवेदन दिएकाले कारबाही गर्न सजिलो भएको समितिका संयोजक पौडेलले बताउनुभयो । 

ग्राहकले गरेको उजुरीका आधारमा होटल सञ्चालक सुजन अधिकारीको रोहबरमा मूल्यसूचीको निरीक्षण गर्दा संयुक्त बजार अनुगमन समितिद्वारा निर्धारित मूल्यसूचीका अतिरिक्त जिल्ला होटल संघबाट तयार पारिएको भनिएको फर्जी मूल्यसूचीसमेत होटलमा राखी यात्रुहरुलाई भ्रममा पारी खाना खाजामा चर्को मूल्य असुल गर्ने गरेको पाइएको अनुगमन समितिले जनाएको छ ।

तोकिएको भन्दा बढी मूल्य लिएर ग्राहकलाई ठगी गरेको आरोप लागेका होटल सञ्चालक अधिकारीलाई होटल व्यवस्था तथा मदिराको बिक्रीवितरण (नियन्त्रण) ऐन २०२३ को दफा ५(ग) बमोजिम ग्राहकलाई मनासिव माफिकको मूल्यमा खाना नखुवाएको कसुरमा सोही ऐनको दफा १० बमोजिम रु.पाँच हजार जरिवाना गरी अब आइन्दा यस प्रकारका कसुरहरु नगर्ने नगराउने गरी कागजसमेत गराइ छाडिएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।

यसैगरी अनुगमन समितिले मासु पसलको अनुगमनको क्रममा बेनीघाट गाविस–८ स्थित बाँदरेमा राजु मियाद्वारा सञ्चालित दर्ता नभएको मासु पसलमा पुग्दा दुईवटा बाख्री काटिरहेको भेटेकोमा मियाले अनुगमन टोलीसमक्ष खसी काटेको भनी झुक्याउन खोजेपछि मिया पनि तत्काल पक्राउ परेका थिए ।

काटिँदै गरिएको मासु बाख्रीको नै भएको पुष्टि भएपछि मासु पसल सञ्चालक मियालाई कारबाहीको दायरामा ल्याई एक रात थुनामा राखी अनुसन्धानका लागि १५ दिनको तारेखमा राखी आवश्यक अनुसन्धान तथा कारबाही प्रकृया अगाडि बढाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।


No comments:

Post a Comment

vfhcnbn

vggc